Friday, September 29, 2017

थाइ पूर्व प्रमलाई पाँच वर्ष जेल सजाय


थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावातले आपराधिक लापरवाही गरेको ठहर गर्दै त्यहाँको सर्वोच्च अदालतले उनलाई पाँच वर्षको जेल सजाय सुनाएको छ।
अदालतको उक्त फैसला उनको अनुपस्थितिमा आएको हो।
चामल अनुदानसम्बन्धी एउटा परियोजनामा शिनावातले लापरवाही गरेको अदालतको ठहर छ।
उक्त परियोजनामा थाइल्याण्डले कम्तीमा ८ अर्ब डलर बराबरको खर्च बेहोर्नु परेको बताइएको छ।

महाभियोग

सन् २०११ मा भएको आमचुनावमा यिङलकको पू थाइ दल अत्यधिक मतका साथ विजयी भएको थियो र उनी प्रधानमन्त्रीमा चुनिएकी थिइन्।
सन् २०१४ मा 'कू' अर्थात् सत्तापलट हुनुभन्दा केही हप्तापूर्व त्यहाँको संवैधानिक अदालतले अख्तियारको दुरुपयोग गरेको आरोपमा उनलाई पदबाट हटाएको थियो।
पछि उनीमाथि महाभियोग लगाइएको थियो ।
चामल अनुदान परियोजनामा भ्रष्टचार गरेको भन्ने सबै आरोपहरु शिनावातले अस्वीकार गर्दै आएकी छन्।
गत महिना उक्त मुद्दामा अदालती सुनुवाई हुनुअघि नै उनी दुबई भागेको बताइएको थियो।

विभाजित मत

त्यतिबेला अदालतले शिनावातविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको थियो।


तर अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला यो महिनाका लागि सारिएको थियो।
भ्रष्टचारका आरोपहरुलाई लिएर जनताको मत विभाजित छ।
यिङलक ग्रामीण र गरीब मतदाताहरुमाझ अझै पनि लोकप्रिय छिन्।
सुनुवाईका क्रममा यिङलकले आफू उक्त चामल परियोजनासम्बन्धी दैनिक कामका लागि जिम्मेवार नभएको तर्क गरेकी थिइन् र आफूलाई राजनीतिक पूर्वाग्रहको शिकार बनाइएको बताएकी थिइन्।



के थियो चामल अनुदान परियोजना?
-यिङलकको चुनावी अभियानको एउटा हिस्सा जुन सन् २०११ मा उनले पद सम्हालेपछि शुरु गरिएको थियो।
-ग्रामीण गरिबी हटाउन सरकारले ग्रामीण भेगका कृषकलाई बजारको भाउभन्दा दोब्बर रकम दिएको थियो।
-उक्त परियोजनका कारण चामल निर्यातकर्ताहरु मारमा परेका थिए जसकारण ८ अर्ब डलरको क्षति भएको सैन्य सरकारले बताएको थियो।
-ग्रामीण र गरीब मतदाताहरुमाझ अझै पनि लोकप्रिय छिन्।
ग्रामीण मतदाताहरुमाझ उनको उक्त परियोजना लोकप्रिय भएपनि परियोजना एकदम महँगो र भ्रष्टचारतर्फ डोर्‍याउने खालको भएको उनका विपक्षीहरु बताउँछन् ।

No comments:

Post a Comment

Thanks,For commenting
be connected with me to read more in my posts
and please share if you liked it