नेपालीहरुको महान पर्व बडादशैंले देश अहिले रंगीचंगी भएको छ । परदेशमा
हुने नेपालीहरु घर फर्किदै छन् भने राजधानी वा अन्य ठाउँमा बसेकाहरु पनि
आफ्नो जन्मघर फर्किँदै गरेको भिड गज्जबकै देखिन्छ ।
नायक रमेश उप्रेतीको दशैं यस वर्ष गएका वर्षहरुभन्दा निकै विशेष छ ।
किनभने उनी अभिनित फिल्म 'ऐश्वर्य' कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा
आउँदैछ । हाल सम्पादन टेवुलमा रहेको फिल्मको कामसँगै दशैं मनाउने तयारीमा
रमेश उप्रेती छन् । कसरी मनाउँदैछन् रमेश उप्रेतीले दशैं र कसरी सम्झन्छन्
बाल्यकालमा मनाएको दशैं ? फिल्मीखबर डटकमले नायक रमेश उप्रेतीसँग गरेको
दशैं विशेष कुराकानी तपाईमाझ पस्किएका छौ ।
नायक रमेश उप्रेतीसँग गरिएको दशैं विशेष कुराकानी:
१. यस वर्षको दशैं कसरी मनाउने तयारीमा हुनुहुन्छ ?
यस वर्षको दशैं मेरो निकै विशेष छ । कात्तिक ९ गतेबाट मैले निर्माण र
अभिनय गरेको फिल्म 'ऐश्वर्य' हलमा लाग्दैछ । अहिले यही फिल्मको तयारीमा
व्यस्त छु । यस वर्षको दश 'ऐश्वर्य'मय हुँदैछ । आफन्त र साथी-भाईसँग रमाइलो
गरेर पनि दशैंलाई विशेष बनाउँदैछु ।
२. दशैं कत्तिको विशेष लाग्छ तपाईलाई ?
मलाई दशैंमात्र होइन हरेक चाड पर्वहरु विशेष लाग्छ । दशैंमा वर्ष दिनको
तनावलाई भुलेर केही दिन भएपनि रमाउन पाइन्छ । आफन्त र साथी-भाईहरुसँग भेट्न
पाइन्छ । दशैं भनेको यस्तो पर्व हो, जसले हरेक मानिसलाई खुशी बनाउँछ ।
३. दशैंमा सम्झने बाल्यकालको कुनै एउटा घट्ना याद छ ?
त्यस्ता धेरै छन् । बाल्यकालको दशैं अहिलेको भन्दा पनि विशेष हुन्थ्यो ।
दशैंमा यस्तो लुगा लगाउने भनेर बुबा-आमासँग हाम्रो डिमाण्ड हुन्थ्यो । हरेक
दिन जस्तो मासु खान पाइने, पिङ खेल्न पाइने, टिका लगाइसकेपछि
आशिर्वादभन्दा पनि दक्षिणा निकै प्यारो हुन्थ्यो । पैसा पाउनकै लागि म धेरै
आफन्तको घर जान्थें । यस्ता धेरै घट्नाहरु छन्, जसले बाल्यकालमा मनाएको
दशैंको याद दिलाउँछ ।
४. बाल्यकाल र अहिलेको दशैंमा कतिको फरक पाउनुहुन्छ ?
बाल्यकालमा जिम्मेवारी हुन्न थियो अहिले सबै जिम्मेवारी आफैमाथि हुन्छ ।
बाल्यकालमा सबै कुराहरु आमा-बुबाले गर्नुहुन्थ्यो अहिले सबै काम आफै
गर्नुपर्छ । बाल्यकालमा डिमाण्ड मात्र गरिन्थ्यो अहिले परिवारको सम्पूर्ण
डिमाण्ड आफूले पूरा गर्नु पर्छ । बाल्यकालको दशैं र अहिलेको दशैंमा धेरै
फरक हुन्छ ।
५. मदिरा सेवन कत्तिको गर्नुहुन्छ दशैंमा ?
मदिरा म खासै सेवन गर्दिन । मेरो शरीरले मदिरा पचाउँदैन । तर, मदिरा सेवन
गर्दै नगर्ने भन्ने चाहिँ होइन तर मलाई खासै मन पर्दैन । यस वर्षको दशैंमा
सायद मदिरामा रमाइन्न होला ।
६. दशैंमा तास चाहिँ कति प्रिय हुन्छ तपाईलाई ?
दशैं र तिहारमा म तास चाहिँ खुब खेल्छु । मलाई साथी-भाईहरुसँग तास खेल्न
मन पर्छ । यस वर्षको दशैंमा पनि साथी-भाईहरुसँग बसेर केही घण्टा रमाइलोका
लागि तास खेल्ने सोच बनाएको छु । दशैंमा भन्दा पनि तिहारमा मलाई तास खेल्न
मन पर्छ ।
७. केही वर्ष अगाडिसम्म अमेरिकामा दशैं मनाइरहनु भएको थियो ।
अहिले नेपालमा मनाउँदै हुनुहुन्छ । देश अनुसार दशैं मनाउने शैली पनि फरक
फरक हुन्छ ?
धेरै फरक हुन्छ । आफ्नो देशमा दशैंको छुट्टै माहोल हुन्छ तर अमेरिकामा
त्यस्तो हुँदैन । विदेशमा त गज्जबले रमाइलो गरेर दशैं मनाएपनि नेपालको खुब
याद आउँछ । अमेरिकामा भनेको मात्र काम-काम हुन्छ । दशैंमा अमेरिकामा विदा
हुँदैन । काम सकेर आयो अनि साँझ दशैं मनायो । तर, नेपालमा दशैंको बेला
छुट्दै रमाइलो हुन्छ ।
८. दशैंका लागि सपिङ गरिसक्नु भयो ?
दशैंका लागि भनेर म सपिङ खासै गर्दिन । आफ्नो र परिवारका लागि आवश्यक
परेको कुरा तत्काल गएर किनिहाल्छु । नत्र, दशैंका लागि भनेर छुट्टै सपिङ
भने गर्दिन । बाल्यकालमा भने खुब सपिङ गरिन्थ्यो ।
९. दशैंको कुन पक्षले तपाईलाई आकर्षित गर्छ ?
पहिलो त मौसम नै हो । मौसमका कारण पनि दशैं रमाइलो हुने गर्छ । अर्को
भनेको आफूभन्दा ठूलाको हातबाट टिका लगाउँदै आशिर्वाद लिने नै हो ।
१०. दशैंमा माता दुर्गासँग देशका लागि के माग्दै हुनुहुन्छ ?
म सधै भगवानसँग देशका लागि नै माग्छु । यो वर्षको दशैंमा पनि माता
दुर्गासँग देशका विकास होस्, जनताले सुख पाउन, देश चलाउने राजनीतिज्ञहरुमा
सतवुद्धि आओस् भन्ने कामना गर्छु ।
No comments:
Post a Comment
Thanks,For commenting
be connected with me to read more in my posts
and please share if you liked it